बाग्लुङ, २०७६ साल कात्तिक २६ गते मंगलबार । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको तयारीका लागि बाग्लुङमा चुनाबी चहलपहल बढेको छ । उप–निर्वाचनको लागि बाग्लुङमा विभिन्न पार्टी तथा स्वतन्त्र गरि १० जनाको उम्मेद्वारी दर्ता भएको छ । प्रदेश सदस्यका लागि हुने उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागि परेका छन् ।
निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता भएसँगै बागलुङ क्षेत्र नम्बर २ (ख) मा चुनावी सरगर्मी बढेको छ। उम्मेद्वारी दर्तासँगै दलहरुले घरदैलो अभियानलाई समेत तीव्रता दिन थालेका छन् ।
काँग्रेसले पनि यस क्षेत्रबाट आफ्नो उम्मेद्वारलाई विजयी बनाउने तयारीका साथ सक्रियता बढाएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा, प्रत्यक्ष तर्फका उमेदवार नेता जीत बहादुर शेरचनको जन्म वि स २०३६ साल असार २४ गतेका दिन हालको ठेगाना तामानखोला गाउँपालिका वडा न २ शिल्गुम बाग्लुङमा भएको थियो ।
राजनीति शास्त्रमा स्नाकोत्तर गर्नु भएका नेता शेरचनको राजनीतिक यात्रा वि स २०५२ सालबाट जन जागृति मा.वि वोगादोभान इकाईको अध्यक्षबाट सुरु भएको हो । त्यसैगरी, वि स २०६२ साल (२०६२देखि २०६५ सालसम्म) मा महेन्द्र रत्न क्यामपस ताहचल काठमाडौँको स्व. वि. यु सभापति समेत रहनु भयो ।
वि स २०६२\०६३ सालको जन-आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो । लोकतान्त्रिक आन्दोलनमा नेता शेरचन पटक पटक पक्राउ पर्नु भएको थियो |
राजनीतिक यात्रामा निकै उतार चढाबका कारण वि स २०६७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समितमा आबद्द हुदै वि स २०६८ सालमा नेपाल विधार्थी संघ केन्द्रिय सदस्यमा समेत शेरचनले महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
त्यसैगरी, वि स २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएको थियो ।
राजनीतिक यात्रामा सक्रिय सहभागितामा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएका शेरचन बिभिन्न संघ सस्थामा आबद्द भएका शेरचन सामाजिक कार्यमा समेत उहाँको विशेष योगदान रहेको छ ।
काँग्रेसका उम्मेद्वार जितबहादुर शेरचन पनि वर्तमान सरकारको कामप्रति जनता आजित भएकाले विकल्पका रुपमा आफूलाई विजयी गराउने धारणा राख्नु हुन्छ ।
बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा हुन लागेको प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसबाट युवा नेता जित शेरचनले उम्मेद्वारी दर्ता गरिसक्नु भएको छ ।
नेता शेरचनले यस पटकको चुनावमा आफूले जित्ने दाबी गर्नु भएको छ । लामो समयदेखि जनताको माझमा रहेर काम गरिरहेको हुँदा आफूलाई जनताले जिताएरै छोड्ने बताउनु भएको छ ।
‘म सधैँ जनताको माझमा रहेर काम गरेको छु, म व्यक्तिगत लाभको लागि कहिल्यै लागिन,’ ‘म प्रति धेरै जनता विश्वास गर्नु भएको छ, माया सद्भाव देखाउनु भएको छ ।’ नेता शेरचनले भन्नुभयो ।
उहाँले सरकारले गरेको काम प्रति जनता असन्तुष्ट रहेको बताउँदै उनीहरुले विकाल्प खोजेको बताउनु भयो । ‘सरकारले काम कारबाही देखेर जनता आजित भएका छन्, उनीहरुले यसको विकल्प खोजिरहेका छन्,’ शेरचनले भन्नुभयो ‘यसको विकल्प भनेको नेपाली कांग्रेस हो, हामी हौँ, यसले गर्दा हामी ढुक्क चुनाव जित्छौँ । उहाँले भन्नुभयो ।
२ हजार मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालय बाग्लुङका अनुसार उपनिर्वाचनमा विगतको निर्वाचनमा भन्दा २ हजार भन्दा बढी मतदाता थपिएका छन् । बागलुङ–२ (ख) मा हाल ३५ हजार ६ सय ३४ मतदाता सूचीकृत छन् । गत श्रावण १६ गते निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि श्रावण १६ पछि उमेर पुगेका बालिग मतदाताले भने उपनिर्वाचनमा मतदान गर्न पाउने छैनन् ।
सोही कार्यालयको तथ्याङ्क अनुसार गएको निर्वाचनको तुलनामा २ हजार ३ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका भित्रका जनता बागलुङ–२ (ख) प्रदेशसभा सिटका मतदाता हुन् ।
विगतमा मत परिणाम यस्तो थियो
बि स २०७४ सालको प्रदेशसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतपरिणाम हेर्दा सबैभन्दा बढी मत नेपाली काँग्रेसले पाएको देखिन्छ । काँग्रेसले उक्त सिटबाट त्यतिबेला कुल ७ हजार ४ सय १८ मत पाएको थियो ।
काँग्रेस पाएको समानुपातिक मतभन्दा १ हजार २ सय ६ मत बढी काँग्रेसका प्रत्यक्ष उममेदवार जीत बहादुर शेरचनले ल्याएका थिए । प्रत्यक्षतर्फ शेरचनको मत ८ हजार ६ सय २४ थियो ।
त्यसैगरी, तत्कालीन नेकपा एमालेले त्यहाँ ४ हजार ५६ मत प्राप्त गरेको थियो भने तत्कालिन माओवादी केन्द्रले ३ हजार ३ सय ६५ मत प्राप्त गरेको थियो । दुबै पार्टी एकीकरण भएकाले दुवैको मत जोड्दा नेकपाको ७ हजार ४ सय २१ मत हुन्छ ।
नेकपाको मत त्यसबेला काँग्रेसले लिएको समानुपातिक मत भन्दा ३ मत बढी छ । त्यसैगरी, बाम गठबन्धनमा सामेल भएको राष्ट्रिय जनमोर्चाले ४ हजार १ सय ४५ मत प्राप्त गरेको थियो ।
बाम गठबन्धनको यी सबै मत जोड्दा ११ हजार ५ सय ७५ मत हुन्छ । तर, विजयी उम्मेदवार घर्तीले प्रत्यक्षतर्फ ११ हजार ८ सय ८४ मत प्राप्त गरेका थिए । बाम गठबन्धनको कुल समानुपातिक मतको तुलनामा उहाँले प्रत्यक्षतर्फ ३ सय ९ मत बढी प्राप्त गर्नु भएको थियो ।








































