काठमाडौं, २४ कात्तिक २०७६ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली भूमिमा बाह्य अतिक्रमण स्वीकार्य नहुने बताएका छन् ।
डा शेखर कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको उल्लेख गरेका छन् ।
नेपाली भूमीमा बाह्य अतिक्रमण स्वीकार्य नहुने र यस्तो बिषयमा सम्झौता हुन नसक्ने पनि डा शेखर कोइरालाले उक्त विज्ञप्तिमा
लेखेका छन् । उनले सो विज्ञप्ति मार्फत सरकारले राष्ट्रिय समहति अनुरुप गुमेको भूमि फिर्ता लिन तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे ।
‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन’, नेता कोइरालाले विज्ञप्तिमा लेखेका छन्,’राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।’








































