धनगढी, २४ कात्तिक २०७६ । पौने १६ करोड कीर्ते अभियोगमा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
अदालतमा रावलसहित १६ जनाविरुद्ध मुद्दा दायर गरिएपछि फरार रहँदै आएका उनले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष आइतबार राजीनामा बुझाएका हुन् ।
राज्यमन्त्री रावलले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ ।” तर, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीका अनुसार राज्यमन्त्रीले बुझाएको राजीनामा कार्यालयमा दर्ता भइसकेको छैन् ।
महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको छ । अदालतमा मुद्दा दायर गरिएपछि उनी फरार भएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य रावल २०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए ।








































