काठमाडौं, २३ कार्तिक २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्सा विरोध जारी आन्दोलनलाई निरन्तरता दिन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
आफ्नो भ्रातृ संगठनले भारतद्वारा जारी नक्साको विरोधमा शुरु गरेको आन्दोलनलाई थप सशक्त बनाउन निर्देशन दिनु भएको हो । भारतले लिपुलेक कालापानीसहित नेपाली भू–भागलाई आफ्नो नक्सामा पारेको विरोध नेविसंघले भारतको विरोधमा आन्दोलन गर्दै आइरहेका छन् ।आन्दोलनमा कांग्रेस नेताहरुको समेत सहभागिता छ ।
लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिनुभयो ।

‘शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिनुभयो,’ अर्यालका अनुसार सभापति देउवाले राजधानीमा देखिने गरी काठमाडौंमा आन्दोलन उठाउनु पर्ने उहाले बताउनु भयो ।
कांग्रेस सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको बताउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी दिनु भयो ।








































