काठमाडौं, ४ कात्तिक २०७६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिमा आगामी नेतृत्व ३२ वर्ष उमेर समूहभन्दा माथिबाट आउने निश्चितप्रायः देखिएको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नै नेविसंघमा ३२ वर्ष उमेर समूहभन्दा माथिबाट नेतृत्व ल्याउन इच्छुक देखिएका छन् ।
नेविसंघको तदर्थ समिति गठनका लागि सम्पन्न छलफलमा सभापति देउवा र नेता पौडेलले आगामी महाधिवेशनका लागि गठन हुन लागेको तदर्थ समितिका लागि ३२ वर्ष नाघेका विद्यार्थी नेताहरुको नाम प्रस्ताव गरेका छन् । देउवाले सुनसरीका राजीव ढुंगाना र पौडेलले रोल्पाका मनोजमणि आचार्यलाई नेविसंघको तदर्थ समितिको अध्यक्षका लागि छलफलका क्रममा आइतबार प्रस्ताव गरेका थिए ।
यद्यपि, नेताहरुका बीचमा सहमति भने जुट्न सकेको छैन । बूढानीलकण्ठस्थित आप्mनै निवासमा भएको छलफलमा सभापति देउवाले एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने गरी ढुंगानाको संयोजकत्वमा नेविसंघको केन्द्रीय कार्यसमिति गठनको प्रस्ताव गरेका थिए । उनले अन्य सदस्यको नाम उपलब्ध गराउन वरिष्ठ नेता पौडेललाई आग्रह पनि गरेका थिए ।
तर, पौडेलले संयोजक आफूले पाउनुपर्ने र छ महिनाभित्रै महाधिवेशन गर्ने गरी केन्द्रीय समिति गठन गरिनुपर्ने अडान राखेका थिए । आफूले प्रस्ताव गरेको एक वर्षको समयावधिप्रति नेता पौडेलले असहमति प्रकट गरेपछि देउवा छ महिनामा महाधिवेशन गर्ने गरी केन्द्रीय समिति गठनका लागि तयार भएका बताइएको छ ।
आइतबारको छलफलमा नेता पौडेलले नेविसंघको मात्रै नभएर अन्य भ्रातृ तथा शुभेच्छुक संगठनका साथै पार्टीका विभागलगायतका विषयमा प्याकेजमै टुंग्याउनुपर्ने अडान राखेपछि नेविसंघका बारेमा सहमति नजुटेको नेताहरुले बताएका छन् ।
गत माघमा दुई पटक थप गरिएको समयावधिमा पनि महाधिवेशन गर्न नसकेपछि नेविसंघका तत्कालीन अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका थिए । गत माघमा विघटन भएको नेविसंघको केन्द्रीय कार्यसमिति नेताहरुको खिचातानीका कारण अझै गठन हुन सकेको छैन । कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति गठन गर्ने सम्पूर्ण अधिकार सभापति देउवालाई दिएको छ ।








































