काठमाडौं, ४ कात्तिक २०७६ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटघाट भएको हो ।
भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङ बताए ।
‘बैठकमा त्यस्तो ठोस निर्णय नभएको तथा सत्ता र प्रतिपक्षबीचको कुराकानी हो, ’बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
साथै, उनले भने ‘बेलाबेलामा छलफल गर्दै अघि बढ्नुपर्छ । द्वन्द्वकालीन घटनाको विधेयकबारे छलफल भयो ।’








































