पोखरा, २९ असोज २०७६ । देशकै ध्यानकेन्द्रित कास्की २ को प्रतिनिधिसभा निर्वाचनमा प्रमुख पार्टी नेकपा र कांग्रेसमा उमदेवारका आकांक्षी नै बढी देखिएका छन् ।
कांग्रेसबाट १६ जनाले निर्वाचन लड्ने आकांक्षा देखाएका छन् । चुनाव आउन अझै डेढ महिना बाँकी छ । चुनाव नजिकिँदै जाँदा ठूला पार्टीभित्र आकांक्षीहरु खुल्न थालेका छन् भने उमेदवारको सकस पनि उत्तिकै छ ।
यस क्षेत्रबाट चुनाव जितेका रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ र यहाँ आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उनै रवीन्द्रले २०७४ को चुनावमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई झन्डै नौ हजार मत अन्तरले हराएका थिए ।
निर्वाचनमा पराजित चालिसेसँगै उपनिर्वाचनमा १६ जना आकांक्षी देखिएका छन ।
कास्की कांग्रेस सभापति कृष्ण केसीले अहिलेसम्म १६ जनाले आकांक्षा देखाएको बताए । आकांक्षीको संख्या धेरै भए पनि टिकट भने एकजनाले पाउनेछ जसको टुंगो केन्द्रले लगाउनेछ ।
“हामीलाई उमेदवार टुंग्याउने अधिकार छैन, तीनजनासम्मको नाम सिफारिस गरेर पठाउने भनेको छ, हामीले यसको अख्तियारी क्षेत्रीय कार्यसमितिलाई दिएका छौँ, सम्भवतः यही महिनाभित्रै तीनजना उमेदवारको छनोट होला,” उनले भने । क्षेत्रीय सभापति माधव बास्तोलाले भने, “हामी अहिले आन्तरिक गृहकार्यमा छौँ, को–को आकांक्षी हुनुहुन्छ बुझ्न खोजेका हौँ, कांग्रेस ठूलो पार्टी हो, आकांक्षा पनि धेरैले नै देखाउनुभएको छ ।”
आकांक्षीको नाम नभने पनि उनले अघिल्लो निर्वाचनका उमेदवारदेखि नयाँ अनुहारसम्मले निर्वाचन लड्ने चाहना देखाएको बताए । “पुरानादेखि नयाँ अनुहार पनि उत्तिकै हुनुहुन्छ, धेरै उमेदवार भए पनि हामीले सकेसम्म सहमतिबाटै टुंगो लगाएर जिल्लालाई सिफारिस गर्ने हो, अन्यथा लोकतान्त्रिक प्रक्रिया त छँदैछ ।”
यही महिनाभित्रै तीनजना उमेदवार जिल्लालाई सिफारिस गरिसक्ने उनले दाबी गरे । जिल्ला सभापति कृष्ण केसीले पनि क्षेत्रले सिफारिस गरेपछि कात्तिक १–२ गतेभित्रै केन्द्रमा सिफारिस गरिसक्ने बताए ।
“हामीले केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्य समितिको बैठक बसेर उमेदवार छनोटको बैठक बसेर क्षेत्रलाई दिइएको छ । केन्द्रको परिपत्र अनुसार क्षेत्रले सिफारिस गरेका उमेदवार हामीले केन्द्रमा पठाउनेछौँ,” उनले भने ।
यसको लागि उक्त क्षेत्रको क्षेत्रीय समिति आकांक्षी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघसंगठनसँग छलफल र सरसल्लाह गरिएको उनले बताए ।
निर्वाचनको आन्तरिक तयारी भने भइरहेको उनले जानकारी दिए । “आन्तरिक संगठन परिचालन, व्यवस्थित र पार्टीका हरेक इकाइका कार्यकर्ताबीच जाने, छलफल चलाउने कार्य भइरहेको छ, अघिल्लो निर्वाचनमा जाँदा गुमेको परिणाम फिर्ता ल्याउने गरी महत्व दिएका छौँ,” केसीले जानकारी दिए ।
निर्वाचनमा पराजित भए पनि पाँचवर्षसम्मको उमेदवार आफू नै भएको तर्क देवराज चालिसेले गर्दै आएका छन् । उनीसँगै महासमिति सदस्य ऋषि काफ्ले पनि आकांक्षीको दौडमा छन् । कांग्रेसमा सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले टिकट दाबी गर्दै आएका छन् ।








































