काठमाडौं, २७ असोज २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँग फेरी सहकार्य हुनसक्ने धारणा राखेका छन् ।
आइतबार नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए । कांग्रेसका नेताहरुसँग भेट्दा सहयात्रीसँग भेटघाट गरे जस्तो महसुस हुने गरेको उनले बताए।
‘नेपाली कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै सहयात्रीका बीच आएजस्तो अनुभूति हुन्छ’ उनले भने, हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्छ।’
एकता र शान्ति प्रकृयाको संकल्पकै कारण कांग्रेससँगको सम्वन्ध सहयात्रीकै रुपमा अघि बढ्ने उनले दावी गरे ।
प्रचण्डले भने ‘त्यतिवेला लिएका संकल्प र प्रतिवद्धता प्रति दृढ रहने र देशको राष्ट्रिय स्वाधिनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो’ ।
नेपाली कांग्रेसले शुरु गरेको चियापान संस्कृति राजनीतिक सहकार्यलाई अक्षुण राख्ने माध्यम बनेको भन्दै प्रचण्डले आगामी दिनमा पनि दलहरुबीचको सहकार्य जारी रहनुपर्नेमा जोड दिए ।


















