काठमाडौँ, १९ असोज २०७६ । दशैँको रौनक सहर र गाउँमा धपक्कै ढाकिसक्यो । घरआँगन सफाइला बनेका छन् ।
गाउँघरका डाँडाका चउर र मैदानमा लिङ्गे पिङ मच्चिन थालिसके । घरघरमा मीठामसिना पाकेको सुवास फैलँदै छन् । विदेशिएका घरमूली घरफिरेपछिको खुसी गाउँमा बिछट्टै बढेको छ । सहरमा काम गरी दशैँ मनाउन गाउँ फिर्नेको लर्को लामो छ ।
विद्यालय छुट्टी भएर बालबालिका नयाँनयाँ कपडामा सजिँदै घरआँगनमा दौँतरीका साथ रमाउँदै छन् । मोबाइल, कम्प्यटुर, इन्टरनेटजस्ता आधुनिक प्रविधिले सहरका बालबालिकाको मौलिक दशैँ भने ओझेल परेको छ तर भर्खरै गाउँबाट नगर बनेको चाँगुनारायणको डाँडाका बालबालिकाले भने पुरानो दशैँको छनक दिने माहोल छाडेका छैनन् ।
यस्तै रमाइलोमा भुल्दै गरेका चार जना बालबालिका भक्तपुरको चाँगुनारायण मन्दिरकै आसपास खेल्दै थिए । तीमध्ये एक समिर तामाङ आमाले किनिदिएको नयाँ चङ्गा हावातिर सोझाउँदै थिए । डाँडाको टुप्पोमा हावा कतिखेर कताबाट र कतिखेर कताबाट हुरुरु आउँथ्यो । समिरको चङ्गा हावा भएतिरै कहिले यता त कहिले उता गरेर उड्थ्यो ।
हावाको वेगसँग चङ्गाको लय मिलाउन उनलाई हम्मेहम्मे परिरहेको थियो । तैपनि उनी जता हावा फर्कन्थ्यो, त्यतै चङ्गा डोहो¥याउँदै थिए । अर्की थिइन् विदिता भुजेल । उनी भने उड्दै आएको फिरफिरे फूलका पछिपछि कुद्दै थिइन् । त्यो फिरफिरे फूल घरी उसको हातमा पथ्र्यो । घरी उडेर जान्थ्यो । उनको मन र उनी भने फूलसँगै उड्दै थियो । फूल पर उडेपछि भने उनी पनि समीरकै चङ्गाको पछि दौडिन थालिन् । चङ्गा हातमा समाउँदै उडाउन सघाउन थालिन् ।
उनकी सखी आशिका तामाङ छेउमै बसेर चङ्गा कहिले आकाशमा उड्ला भनेर प्रतीक्षा गर्दै थिइन् । “हावा नै आएन उड्दैन कि क्या हो यो चङ्गा”, उनी बालमनोभावका साथ बोलिन्् । “उड्छ उडछ् पख न अलि बेसरी हावा आएपछि उडी हाल्छ नि चङ्गा”, समीरले चङ्गाको लट्टाई बटार्दै भने ।









































