मुस्ताङ, १ असोज २०७६ । देशका विभिन्न स्थानबाट व्यापारीहरु हिमालपारीको जिल्ला मुस्ताङमा पुगेका छन् । व्यापारीहरु मुस्ताङको बगैँचामा उत्पादित स्याउ किन्न मुस्ताङमा पुगेका हुन् । यसैकारण आज-भोलि मुस्ताङका स्याउ नेपाली बजारमा आउन थालेको छ ।
मुस्ताङ जिल्लाको विभिन्न स्थानमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौँ, नारायणगढ, बुटवल र भैरहवासहित विभिन्न बजारमा पुग्ने थालेको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेति गरिएकोमा ३ सय ७० हेक्टरमा लगाएको स्याउले उत्पादन दिएको छ । पटकपटक परेको हिमपातका कारण विगतको तुलनामा यस वर्ष स्याउ उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिए ।
मुस्ताङ जिल्लाको स्याउ उत्पादन हुने स्थानहरु टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ लगायत मुक्तिनाथ क्षेत्र रहेको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । जलवायु परिवर्तनका कारण पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउ फल्न थालेको अधिकृत थापाले जानकारी दिए ।
बागवानी विकास अधिकृत थापाको भनाइ अनुसार उपल्लो मुस्ताङको चराङ, घमीलगायतका क्षेत्रमा स्याउ उत्पादन हुने गरेको छ । उनले यसवर्ष म्याग्दीको बेनीमा तीज पर्वदेखि नै मुस्ताङको स्याउ आएको जनाए ।
बागवानी विकास अधिकृत थापाले भने, ‘नेपाली बजारमा स्याउ सजिलै बिक्री हुने हुँदा व्यापारीहरु कृषकको बगैंचामै पुग्छन्। स्याउ खरिदका लागि बगैंचामा पुग्ने व्यापारीहरुले ठेक्कामा स्याउको बगैंचा नै खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीहरुले कार्टुन र डोकोमा पनि स्याउ खरिद गरेर बिक्री गर्दै आइरहेको छ ।’
यसैगरी, मार्फाका स्याउ उत्पादक कृषक दिपक लाल्चनले २५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ ठेकेदारलाई बिक्री गरेको जानकारी दिए । लाल्चनले यस वर्ष धादिङ र पोखराबाट व्यापारीहरु स्याउ खरिद गर्न मार्फा पुगेको भन्दै आफ्नो बगैंचामा साढे ५ सय जति स्याउका बोटहरु रहेको जानकारी दिए । स्याउ बगैँचामै किन्दा प्रति केजी होलसेल ७० रुपैयाँमा पाइन्छ भने, बजारमा आइपुग्दा २ सय रुपैयाँभन्दा माथि मूल्य पर्ने गरेको छ ।








































