म्याग्दी, १ असोज २०७६ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा हरियाली ग्रूपले आधुनिक कृषिफार्म सञ्चालन गरेको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, कृषि वैज्ञानिकहरू टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापा लगायतको रू ६ करोड लगानीमा गत माघदेखि कृषिफार्म सञ्चालन गरिएको हो । जग्गा चक्लाबन्दी गरेर उक्त समूहले व्यावसायिक तरकारीखेतीका साथै माछा, कुखुरा तथा मौरीपालन शुरू गरेको छ ।
समूहले कृषिको आधुनिकीकरण, व्यावसायिकता विकास, रोजगारी सृजना र उत्पादन तथा कृषकको आम्दानी बढाउने उद्देश्य राखेको छ । यो म्याग्दीकै हालसम्मको ठूलो कृषि परियोजना भएको फार्म सञ्चालक समितिका सदस्य दुर्गाबहादुर थापाले दाबी बताउनु भयो ।
फार्म सञ्चालनका लागि विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाली सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘अमुल’ मोडल अवलम्बन गरिएको थापाले जानकारी दिनु भयो । ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या समाधान गर्न, उत्पादन बढाउन र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागेका छौं,’ उहाले भन्नुभयो ।
समूहले ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरेको प्रबन्ध निर्देशक शेरबहादुर के सी ले बताउनु भयो । फार्ममा निकट भविष्यमै बोयर जातका बाख्रा र कालिजपालनका लागि तयारी भइरहेको उहाले जानकारी दिनुभयो ।
कृषिफार्ममा म्याग्दी खोलाबाट लिफ्टिङ गरी पानी ल्याइएको छ । यसबाट सातओटा पोखरीमा रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ । मासु र अण्डाका लागि छुट्टा/छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताउनु भयो ।
त्यसैगरी, १०० घारमा मौरी पालिएको छ भने आधुनिक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । हालसम्म ४० लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र मौरी विक्री भइसकेको प्रबन्ध निर्देशक केसीले जानकारी दिनुभयो । समूहमा नरहेका अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाइने बताउनु भयो ।








































