काठमाडौं, २०७६ साल भाद्र २ गते सोमबार । उच्च अदालत पाटनले ललितपुरको गोदामचौर बलात्कार काण्डका तीनै जना अभियुक्तलाई जनही २० वर्ष जेल सजाय हुने जिल्ला अदालतको फैसला सदर गरेको छ ।
सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको बलत्कारमा दोषी ठहर गर्दै उच्च अदालतले जिल्ला अदालत ललितपुरको फैसला सदर गरेको हो ।
जिल्ला अदालतले २०७५ फागुन १७ गते यस्तो फैसला सुनाएको थियो। जिल्लाले मुद्दा दायर भएको १५ महिनापछि फैसला सुनाउँदै उनीहरुलाई जन्कैदको फैसला सुनाएको थियो ।
उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञबहादुर थापाको इजालसले जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको हो ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले तीन जनलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसला विरुद्ध उनीहरुले २०७५ चैत २७ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। उक्त पुनरावेदनमा अन्तिम फैसला गर्दै उच्चले जिल्लाको सदर गरेको हो ।
२०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही १० वर्ष कैद सजाय भएको हो। त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतको फैसलामा भनिएको छ ।
उनीहरुलाई सामूहिक बलात्कार र जबरजस्ती करणीमा ५/५ वर्ष गरी १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन गरी जम्मा २० वर्ष ६० दिन कैद गर्ने फैसला भएको अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए। यसमध्ये सबैभन्दा बढी सजाय हुने छ ।
दर्दनाक घटना
ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २०७४ मंसिर २ गते साँझ सामूहिक बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनलाई घर नजिकैको खोला किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो । शरीरको तल्लो भागमा कपडा थिएन । दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो ।
घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएको थियो । तर, टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । ऊनलाई ७ दिनसम्म आईसीयूमा राखिएको थियो । दाहिने हात टुक्राटुत्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी उनको स्टिल–सपोर्टमा हात जोडिएको थियो भने टाउकामा ३० भन्दा बढी टाँका लगाइएको थियो । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि अनुसन्धान गरेका थिए ।
पीडित युवतीले दिएको बयानमा आफूलाई मंसिर २ को साँझmमा ३ व्यक्तिले ज्यान मार्ने नियतले आत्रमण गरेको, पैदल हिँडिरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएको बयान दिएकी थिइन् ।
घटनास्थलबाट रगत लत्पतिएको ढुंगा, युवतीको सुरुवाल, रगत लागेको सल, पेन्टी, रौं, हातेझोला, तरकारी ब्याग, मोबाइलसहितका सामग्री प्रहरीले ‘प्रमाण’ का रूपमा उठाएर लगेको थियो । सातदोबाटो महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक सुन्दर चौंलागाईंले घटनाको अनुसन्धान सुरु गरिसकेका थिए ।
उता अस्पतालमा रहेकी पीडित युवती होसमा आएपछि र बोल्न सक्ने भएपछि घटनाको आठौं दिन दिएको किटानी नामका आधारमा ललितपुरकै रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई प्रहरीले पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानपछि पुस २४ गते जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । दोषी ठहर भएका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर नजिकका छिमेकीसमेत हुन् । विशालध्वज र पवन अत्यन्त मिल्ने साथी हुन् ।
पीडितले घटनास्थलमा आक्रमण हुनासाथ ‘रघु–रघु’ भनी बोलाइएको र रघु सिलवाल आएको भनी किटानी दरखास्त दिएकी छन् । त्यसपछि भने टर्च बालेर विशाल र पवन भनेरसमेत बोलाइएको भनी विशालध्वज कार्की र पवन कुँवरको नाम किटेकी थिइन् ।
लामो समय अचेत भएका कारण पीडितको भनाइको सत्यतामा समेत प्रश्न उठाई प्रहरीले परीक्षण गरेको थियो । पीडितले बयानका क्रममा आफू सातदोबाटोबाट घर फर्कने क्रममा हिमालयन बैंकको एटीएमबाट तीन हजार रुपैयाँ निकालेको बताएकी थिइन् ।
त्यसक्रममा अनुसन्धान गर्दा उनले बताएकै समयमा उक्त एटीएम मेसिनबाट ३ हजार रुपैयाँ नै निकालेको तथ्य खुल्यो ।
आरोपीतहरूको बयान भने झूटो रहेको तथ्यसमेत प्रहरीले संकलन गरिसकेको थियो । अदालतमा ल्याइएका आरोपितहरूले घटना भएको दिनको बयान सुनाउने क्रममा एकअर्कामा बाझिने कुरा पनि गरेका थिए । तीन जनामध्ये कसैले मंसिर २ मा साँझसम्म पुल खेल्न गएको भनेका छन्, अनुसन्धान क्रममा उक्त दिन पुल हाउस नै बन्द रहेको पुष्टि भएको थियो । मंसिर ३ गते गाउँले युवती बलात्कृत घटनाक्रम थाहा पाएर हतार गर्दै पाटन अस्पतालसम्म कुराबुझ्न गएको भन्ने बयान पनि शंकास्पद देखिएको थियो ।
अर्कोतर्फ पीडितले बयानमा आरोपितको शरीर र पहिरनको हुलिया बताएकी थिइन् । अनुसन्धानमा पक्राउ परेका ती व्यक्तिसँग उक्त हुलिया मिल्दोजुल्दो थियो । पीडितको भनाइ पूर्वाग्रही हुन सक्ने ठानेर प्रहरीले आरोपितसहित अन्य व्यक्तिलाई समेत उभ्यायो । त्यसक्रममा पीडितले सही व्यक्तिकै पहिचान गरेकी थिइन् ।
स्वास्थ्य परीक्षणले पीडितमाथि बलात्कार भएको तथ्यलाई स्थापित गरेको थियो । गोप्य एवं एकान्त ठाउँमा घटनाको प्रयास हुने र साक्षी अभाव हुने भएकाले बलात्कारका घटनामा पीडितको किटानी जाहेरी महत्त्वपूर्ण प्रमाणित मानिन्छ । त्यसमाथि पीडितको भनाइमाथि प्रहरीले बारम्बार सत्यता परीक्षण गरेर मुद्दा दायर गरेको थियो ।
पाटन अस्पतालको फरेन्सिक विभागले मंसिर ३ गते घाइतेको शरीर परीक्षणमा गरेको अनुसन्धानमा पीडितको शरीरमा अत्यधिक जोडबल (ब्लन्ट फोर्स) को उपयोग भएका कारण विभिन्न ठाउँमा गम्भीर चोटपटक लागेको जनाएको थियो । पछि जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको आदेशमा उनीहरू सामान्य तारिखमा रिहा भएका थिए ।
रिहालगत्तै उनीहरू फरार भएकामा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गरी पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । फरार रहेका उनीहरूलाई पछि प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालतले तीनै अभियुक्तले बलात्कार, ज्यान मार्ने उद्योग तथा चोरी कसुर गरेको ठहर समेत गरेको थियो ।
सामूहिक बलात्कारपछि ज्यान मार्ने उदेश्यले टाउकामा ढुगांले किचेर मरेको भनेर उनीहरुले फालेका थिए। घटनाको भोलिपल्ट बेहोस अवस्थामा तोरीबारीमा युवती भेटिएकी थिइन् ।
घटनाको भएको दिन काम सकेर घर फर्कँदा उनीहरुले पिछा गर्दै धकेलेर लडाएपछि बलात्कार गरेका थिए ।
बेहोस हुनुभन्दा पहिला उनीहरुको अनुहार चिनेको भन्दै पीडितले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। मुद्दामापुर्पक्षका लागि थुनामा नराखी छोडेपछि आलोचना भएको थियो ।
यसअघि गत वर्ष पुस २६ गते ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बालमुकुन्द दवाडीले तीनै अभियुक्तलाई साधारण तारेखमा छोड्ने आदेश दिएका थिए। त्यस विरुद्ध उच्च अदालत पाटनमा निवेदन दायर भएको थियो ।
गोदामचौरमा एक युवतीमाथि कार्की र कुँवरसहित रघु सिलवालले सामूहिक बलात्कार गरेका थिए। बलात्कारको आरोपमा पक्राउ परेका उनीहरु जिल्ला अदालत ललितपुरको गत वर्षको पुस २६ गतेको फैसला अनुसार तारेखमा छुटेका थिए ।
जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपश्चात् फरार रहेका उनीहरुमध्ये दुई जनालाई महाशाखाको टोलीले गरी मुद्दा चलाएको थियो ।
२०७४ मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीमाथि घर फर्किने क्रममा गोदावरी खोलामा सामूहिक बलात्कार भएको थियो ।
बलात्कार गर्ने बेला प्रतिवाद गर्दा युवतीको हात भाँचिएको थियो भने टाउकामा ढुंगा प्रहार गरी घाइते बनाएर बलात्कार गरिएको थियो ।
गम्भीर घाइते भएकी युवतीको सफल उपचार भएको थियो ।








































