गोरखा, ३१ साउन २०७६ । पालुङटार नगरपालिकाका
मेयर दिपकबाबु कडेलले आफ्नो व्यक्तिगत तर्फबाट एक बालकको अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
आमाको काखमा हास्दै खेल्दै हिड्ने उमेर र परिवारको माया पाउने उमेरमा बेवारिसे भइ सडकमा दयनीय जीवन बिताउन बाध्य एक ५ बर्ष बालकको उद्वार गरिएको हो ।
पालुङटार नगरपालिका वडा न-५ बाट बुबा विष्णु कुमार बि.क र आमा पार्वती बि.क को कोखबाट जन्मिएको सन्तोष बि.क सानैमा आफ्नो आमाले छोडेर गएका थिए ।
अहिलेसम्म सम्पर्कमा नआएको र बुबा दिनहु लागू पदार्थ सेवन गरी छोरालाई वास्त नगरे पछि निज बालकले आफ्नो भोको पेट सडकमा डुलि मागेर चलाइरहेका रहेछन् ।
आमाको काखमा हास्दै खेल्दै हिड्ने उमेर र परिवारको माया पाउने उमेरमा बेवारिसे भइ सडकमा दयनीय जीवन बिताउन बाध्य बालकको खाना, बस्न र पालनपोषण संरक्षण गर्न कोहि नभएपछि उनको पढाइलेखाईका साथ भबिस्य नै अन्धकारमा परेको हुनाले निज बालकलाई सडकमा बेवारिसे अवस्थाबाट उद्वार गरि पालुङटार नगरपालिकाको मेयर दिपकबाबु कडेल र समाजसेवी निर्मला श्रेष्ठ मल्लले संरक्षणको लागि मानवसेवा आश्रम गोरखा शाखामा भर्ना गराउनु भएको हो ।
हाल बाबु मानवसेवा आश्रम गोरखा शाखाको संरक्षणमा रहेको र बाबुलाई गोर्खा मनकामना बोर्डिङ स्कुलमा भर्ना गरिएको छ ।
मानवसेवा आश्रमको सेवालाई महसुस गरि आफ्नो ठाउँबाट हामी सबैले समाजको लागि सकेको योगदान पुर्याउनु पर्छ भनी आफ्नो भावना व्यक्त गर्दै पा.न.पा का मेयर दिपकबाबु कडेलज्युले आफ्नो व्यक्तिगत तर्फबाट एक बालकको अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता गर्नु भएको हो ।
खुल्ला आकाशमुनि सडकका किनाराहरु एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरु (अनाथ ,अपाङ्ग ,अशक्त ,असहाय एवं मनोरोगीहरु) को उद्वार,उपचार ,पालनपोषण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमानवमुक्त नेपाल भनी विश्वमान चित्रमा परिचित गराउने उदेश्यले स्थापना गरिएको सामाजिक संस्था हो मानवसेवा आश्रम हो ।









































