गोरखा, २३ असार २०७६ । अभियन्ता रेखा तामाङ लोप्चनले फेसबुकको माध्यमबाट रकम जुटाएर एक भुजेल परिवारको घर निर्माण गरिदिएकी छिन् ।
गण्डकी गाउँपालिका–३ फुजेल याङ्दीमा परिवारका सबै जना अपाङ्गता भएका रामबहादुर भुजेलको परिवारका लागि उनले अपाङ्गमैत्री घर निर्माण गरिदिएकी हुन् । घर निर्माणमा दश लाख ८५ हजार चार सय ९४ रुपैयाँ खर्च भएको उनले पत्रकार सम्मेलन गरेर जानकारी दिईन् । भुजेल परिवारको घर निर्माणका लागि फेसबुक अभियान मार्फत १२ लाख २७ हजार चार सय ९१ रुपैयाँ संकलन भएको थियो ।
घर बनाएर बाँकी रकममा गाउँपालिकाले उपलब्ध गराएको ५० हजार रुपैयाँ थप गरि उनले भुजेल परिवारका लागि एक लाख ९१ हजार नौ सय ९७ रुपैयाँको अक्षयकोष पनि स्थापना गरेकी छिन् । २०७४ पुष चार गतेबाट सुरु भएको अभियानमा करीब दुई सय ब्यक्ति तथा संघसंस्थाले साथ दिएका उनको भनाई छ । देशविदेशमा रहेका नेपालीले रकम पठाएर सहयोग गरेको उनले बताईन् ।‘मैले मात्र गरेर सम्भव थिएन’ उनले भनिन् ‘सबैको साथ पाए । जन्मदै देखि अपाङ्गता भएका परिवारलाई सुरक्षीत घरको ब्यबस्था गर्न सके । धेरै खुसी छु ।’
अभियान सुरु गर्दा चार जना रहेको परिवारमा दुईजना मात्र बाँकी रहेका उनले बताईन् । ‘उहाँहरुको घर बनाउने अभियानमा जुटेकै बेला बुवा दलबहादुर र छोरी देवीमायाँको मृत्यु भैसक्यो’ उनले भनिन् ‘अहिले बनेको घरमा दाजुभाई रामबहादुर र चंख बस्नुहुन्छ ।’ दुबै दाजुभाई घिस्रेर मात्र यताउता जान सक्ने भएकाले अभियन्ता लोप्चनले दाताको सहयोगमा उनिहरुलाई ह्विलचेयरको पनि ब्यबस्था गरिदिएकी छिन् ।
ग्याँस चुल्हो, टेलिभिजन, फ्रिज, डिसहोम, सोलार लगायतका सुविधा सहित चारकोठे घर निर्माण गरि हस्तान्तरण गरेको उनले जानकारी दिईन् । भूकम्पले भत्किएको घरमा बस्दै आएका भुजेल परिवार अहिले नयाँ घरमा बस्न पाउँदा खुसीले दङ्ग परेका छन् ।
भुजेल दाजुभाई अरुको साहारा विना जिउन नसक्ने भएकाले उनीहरुको सहयोगी राख्नका लागि एकबर्षसम्म मासिक पाचँ हजार रुपैयाँ उपलब्ध गराउने भुजेल समाजका पूर्व केन्द्रिय अध्यक्ष बसन्त भुजेलले बताए । यस्तै, गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सो परीवारलाई जिविकोपार्जनका लागि ग्रिन हाउस निर्माणमा अनुदान उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।









































