गोरखा, माघ ३
नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नं. १ बाट सिफारिसमा परिसकेका युवराज बस्ताकोटीलाई उम्मेदवार बनाएमा त्यसले पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश जाने कांग्रेस रहेका बौद्धिक बर्गले चर्चा सुरु गरेका छन् ।
लामो समयदेखि कांग्रेसको संगठन, राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा सक्रिय रहँदै आएका बस्ताकोटीलाई उम्मेदवार बनाउनु पार्टीको छवि सुदृढ गर्ने कदम हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
बस्ताकोटी २०५३ सालदेखि प्रदीप, गगन र गुरुराज समूहसँग आबद्ध भई सडक आन्दोलनमा सक्रिय रहँदै २०६२–६३ को जनआन्दोलनसम्म अग्रपंक्तिमा सहभागी भएका नेता हुन्। आन्दोलनका क्रममा पटक–पटक लाठी प्रहार सहँदै लोकतन्त्र, विधि र सिद्धान्तको पक्षमा उभिएको उनको इतिहास रहेको बताइन्छ। उनी अवसरभन्दा सिद्धान्तलाई प्राथमिकता दिने नेताका रूपमा चिनिन्छन्।
चार पुस्तादेखि नेपाली कांग्रेसको आन्दोलनमा संलग्न परिवारबाट आएका बस्ताकोटीको परिवारबाट अहिलेसम्म कसैले लाभको पद नलिएको तथ्यले उनको सार्वजनिक छवि सकारात्मक बनेको कांग्रेस नेताहरूको भनाइ छ। उच्च शिक्षा, स्पष्ट नीति दृष्टिकोण र नैतिक चरित्रका कारण उनी बौद्धिक युवा नेताको रूपमा परिचित छन्।
पार्टी एकता, अनुशासन र लोकतान्त्रिक विधिमा आधारित राजनीतिका पक्षधर बस्ताकोटी पुराना नेताहरूका सकारात्मक योगदानको सम्मान गर्नुपर्ने धारणा राख्दै आएका छन्। उदारवादी अर्थतन्त्र, शिक्षा र विकास रणनीतिमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने क्षमता उनको विशेषता रहेको बताइन्छ।
उनको सार्वजनिक छवि राम्रो रहेकाले अन्य दलका मतदाताबाट समेत समर्थन पाउने सम्भावना रहेको चर्चा छ। उनी सहिद डिल्लीराम न्यौपानेका भान्जा पनि हुन्।
गोरखा–१ बाट बस्ताकोटीलाई उम्मेदवार बनाएमा कार्यकर्ता र युवामा उत्साह बढ्ने तथा पछिल्लो समय कमजोर बन्दै गएको नेपाली कांग्रेसप्रतिको जनविश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








































