रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले मधेस प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत पार्टीको असन्तुष्टि सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् विस्तारका क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिइएपछि जनमत असन्तुष्ट बनेको हो । उक्त मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका कनिष पटेललाई दिइएको छ।
यसअघि सो मन्त्रालय सम्हालिसकेका कुशवाहाले भागबण्डाका कारण जनमत पार्टी मधेस सरकारमा कमजोर अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १० हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा राखिएको स्मरण गराउँदै मन्त्रालय गुम्दा ती कार्यक्रम प्रभावित हुने बताएका छन्।
कुशवाहाले पार्टीको उद्देश्यअनुसार सरकारमा प्रभावकारी उपस्थिति सुनिश्चित नभए जनमत पार्टी मधेस प्रदेश सरकारबाट अलग हुन तयार हुनुपर्ने चेतावनी नै दिएका छन् ।








































