नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उमेदवार बनेको बताएका छन् । सोमबार (मंसिर २९) पार्टी महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । उनले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुनेमा जोड दिए ।
जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिस्पर्धा भएको उनले बताए ।
ईश्वर पोखरेलको भनाइ पढ्नोस्–
पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धाको कुरा स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिनु हुँदैन । दोस्रो कुरा, उमेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरू केही कुरा नै भएन । मचाहिँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उमेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनुभएका कार्यकर्ता साथीहरूलाई पार्टीलाई पुनः व्यवस्थित, सांगठनिक, वैचारिक रूपमा पुनः व्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु । न्युज एजेन्सी नेपाल








































