नेकपा एमालेमा अब १९ जना पदाधिकारी रहने गरी विधान संशोधन गरिने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले विधान संशेधन गर्ने प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य लक्ष्मी गौतमले जानकारी दिइन् ।
उनका अनुसार १९ जना पदाधिकारी हुनेछन् । तर, वरिष्ठ उपाध्यक्ष भने नरहने जनाइएको छ । यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । यसअघि गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ र केन्द्रीय कमिटी २५१ बनाउने व्यवस्था गरेको थियो । तर, तेस्रोपटक अध्यक्ष हुने घोषणा गरेका केपी शर्मा ओलीलाई आफ्नै समूहमा नेताहरूको व्यवस्थापनमा संकट आएपछि भदौमा गरिएको विधान संशोधन अहिले तीन महिनापछि फेरि संशोधन गर्न लागिएको हो । केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्ताव अब महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ ।
केन्द्रीय कमिटीको निर्णयअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ केन्द्रीय, कमिटी ३०१ (पदाधिकारी सहित) हुनेछन् ।
११ औँ महाधिवेशन हिजो सुरु भएको थियो । आजबाट बन्दसत्र हुँदै छ । अध्यक्षका लागि ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फेरि चुनाव नलड्ने घोषणा गरेका छन् ।








































