बलिउड अभिनेत्री शिल्पा शेट्टीको बान्द्रास्थित प्रसिद्ध रेस्टुरेन्ट ‘ब्यास्टियन बान्द्रा’ बुधबार रातीदेखि बन्द हुने भएको छ।
उक्त रेस्टुरेन्टले मुम्बईको नाइटलाइफमा विशेष स्थान बनाएको थियो। तर हालै शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा ६० करोड रूपैयाँको ठगी आरोपमा मुछिएपछि यो रेस्टुरेन्ट बन्द हुने घोषणा गरिएको हो।
शिल्पा शेट्टीले इन्स्टाग्राममा एक पोस्ट लेख्दै ब्यास्टियन बान्द्रा बन्द हुन लागेको घोषणा गरेकी छन्।
उनले लेखेकी छिन्, ‘यो बिहीबार एक युगको अन्त्य हुँदैछ, किनकि हामी मुम्बईको सबभन्दा प्रतिष्ठित गन्तव्यहरू मध्ये एक– ब्यास्टियन बान्द्रालाई बिदाइ गर्दैछौं। अनगिन्ती सम्झनाहरू, अविस्मरणीय रातहरू र शहरको नाइटलाइफलाई आकार दिने क्षणहरू दिने एउटा ठाउँले अब आफ्नो अन्तिम प्रस्तुति दिँदैछ।’
उनले आफ्नो अर्को रेस्टुरेन्ट ‘ब्यास्टियन एट द टप’ भने सञ्चालनमा रहने जानकारी दिएकी छिन्। ब्यास्टियन बान्द्रा केही वर्षअघिसम्म सेलिब्रेटीहरूको लागि एक नियमित अड्डाजस्तै थियो।
हिन्दुस्तान टाइम्सका अनुसार हालसालै लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज लिमिटेडका निर्देशक दीपक कोठारीले शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ६० करोड भारू ठगीको आरोप लगाएपछि उनीहरू विवादमा तानिएका छन्।
कोठारीका अनुसार, दम्पतीले व्यवसाय विस्तार गर्ने बहानामा पैसा लिएका थिए तर त्यसलाई व्यक्तिगत प्रयोगमा दुरूपयोग गरिएको उनको आरोप छ।
शिल्पा र राजका वकिल प्रशान्त पाटिलले भने यी आरोपहरू निराधार भएको बताएका छन्। उनले भनेका छन्, ‘सबै आरोपहरू झूटो छन्। हामीले अहिलेसम्म एफआईआरको प्रतिलिपि पाएका छैनौं। प्रतिलिपि पाएपछि हामीलाई वास्तविक आरोपहरू थाहा हुनेछ। त्यसका आधारमा हामी अर्को कानूनी उपाय अपनाउनेछौं। तर यो कारोबार निकै पुरानो, ७–८ वर्ष पुरानो हो।’
वकिल पाटिलले यदि कसैलाई ठगिएको महसुस भएको भए ८-१० वर्षसम्म कुर्नु नपर्ने तर्क दिएका छन्। उनले सबै कुराको लागि दस्तावेजी प्रमाण रहेको र आवश्यक परेमा अनुसन्धान एजेन्सीहरूसामु सत्य प्रस्तुत गरिने बताएका छन्।








































