गण्डकी प्रदेशकी प्रतिभाशाली सुन्दरी रेबिका थापा मगरले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता “मिस वल्ड टुरिजम २०२५” मा प्रतिनिधित्व गर्ने भएकी छिन्। उनले मिस ग्रान्ड नेपाल को मंचमार्फत मिस ग्रान्ड गण्डकीको ताज जित्दै मिस साउथ एशिया को तर्फबाट नेपालको नाम उजागर गर्ने अवसर प्राप्त गरेकी हुन्।
आगामी आइतबार रेबिका इन्डोनेसियाको बाली प्रस्थान गर्दैछिन्। उनी सौन्दर्य प्रतियोगिताकी मात्र सहभागी नभई नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यसहित पर्यटनकी दूतका रूपमा सहभागी हुँदैछिन्।
रेबिकाको मुख्य अभियान भनेको पोखरालगायत गण्डकी प्रदेशलाई केन्द्र बनाउँदै “नेपाललाई १२ महिना पर्यटनको लागि उपयुक्त गन्तव्य” को रूपमा स्थापित गर्ने हो। उनले हिमाल, पहाड र तराईको भौगोलिक विविधता, ऐतिहासिक तथा धार्मिक स्थलहरू, जातीय कला–संस्कृति र नेपालीहरूको आत्मीय अतिथि सत्कारलाई विश्वभर चिनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
विगत केही वर्षदेखि मोडलिङमा सक्रिय रहँदै आएकी रेबिका सामाजिक अभियन्ताका रूपमा पनि परिचित छिन्। विशेष गरी युवालाई पर्यटनप्रति आकर्षित गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्ने र नेपाललाई सुरक्षित र मित्रवत गन्तव्य का रूपमा प्रस्तुत गर्ने दिशामा उनी निरन्तर क्रियाशील रहेकी छिन्।
नेपाल पर्यटन बोर्ड, स्थानीय निकाय र विभिन्न पर्यटन व्यवसायीहरूले रेबिकाको सहभागितालाई स्वागत गर्दै उनलाई शुभकामना दिएका छन्। “मिस वल्ड टुरिजम” जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले नेपाललाई विश्वको पर्यटन नक्सामा अझै फराकिलो स्थान दिलाउने विश्वास राखिएको छ।
रेबिकाले पनि प्रतियोगिता जित्नेभन्दा बढी नेपालको पहिचानलाई विश्वसामु उजागर गर्ने जिम्मेवारी ठूलो ठानेकी छिन्।








































