नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका छन्। कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबै किसिमका विद्यमान भेदभाव र छुवाछुत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ संगठनले समेत जुझारु ढंगले विभेदविरुद्ध आवाज बुलन्द गर्ने, राज्य र समाजको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए।
त्यस्तै सभापति देउवाले देशका सबै समस्याहरूको सही पहिचान गर्दै समाधान गर्न कांग्रेस पार्टी सक्षम रहेको धारणा राखे। जातीय भेदभाव गर्ने व्यक्ति पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेको भन्दै उनले यसको कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई निर्देशन दिए।








































