नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व प्रथम महिला डा. आरजु राणा देउवाको जापान भ्रमणका अवसरमा नेपाली जनसम्पर्क समिति जापान तथा अन्तरिम केन्द्रीय समिति परिवारद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिने भएको छ।
‘फाउन्डेशन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ संस्थाको आयोजना तथा डा. देउवाको सहभागितामा “एकीकृत नागरिकतर्फको यात्रा र सामाजिक एकता” विषयक कार्यक्रम टोकियोमा हुने तय भएको छ। यस अवसरमा समिति तथा नेपाली समुदायले डा. देउवाको सामाजिक योगदानप्रति कृतज्ञता प्रकट गर्दै जापानमा भव्य स्वागतको तयारी गरेको जनाएको छ।
जनसम्पर्क समितिले जानकारी गराए अनुसार, डा. देउवाको यो भ्रमणले जापानमा रहेका नेपाली समुदाय तथा नेपाल–जापान सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ। डा. देउवाको सामाजिक, राजनीतिक र कूटनीतिक अनुभवले नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ।
नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष डिका कार्कीका अनुसार डा. देउवाको स्वागत तथा सम्मानमा विविध कार्यक्रमहरू तय गरिएका छन्। टोकियोका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा स्थानीय समाजसेवी, समुदायका अगुवाहरू तथा नेपाली संघसंस्थाहरूको सक्रिय सहभागिता रहनेछ।
समितिले सबै नेपालीहरूलाई यस अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अपिलसमेत गरेको छ।









































