केन्द्र सरकारले आफूखुशी प्रमुख प्रशासकीय अधिकृत पठाएकोमा विराटनगर महानगरपालिकाले आपत्ति जनाएको छ ।
महानगरका मेयर नागेश कोइरालाका अनुसार स्थानीय सरकारसँग काम गर्नका लागि केन्द्र सरकारले सहजता प्रदान गर्न नसक्दा समस्या भएको बताएका छन् ।
उनले भने, ‘व्यक्तिको क्षमतामा हामीलाई समस्या भएन । तर महानगरको कर्मचारी सरुवा गर्दा कम्तीमा हामीलाई पनि सोधिनु पर्थ्यो होला । महानगरसँग सरसल्लाह नगरिकन काम गर्न कर्मचारी पठाउँदा भोलिका दिनमा काममा समस्या हुनसक्छ।’
महानगरभित्रका वडामा सचिव पठाउँदासमेत जनप्रतिनिधिहरूलाई सल्लाह र समन्वय गर्ने गरेको बताएका मेयर कोइरालाले स्थानीय तहमाथि सरकारले हेपाहा प्रवृत्ति देखाएको गुनासो गरे ।
महानगरको चौथो कार्यकालसम्म चलिरहँदा अहिलेसम्म केही बाधा व्यवधान नभएको उनको भनाइ छ । उनले भने, ‘अहिले एकाएक मान्छे पठाउँदा हामी पनि अचम्मित भयौंं । काम गर्ने क्षमतामा शंका भएन । तर सरकारको खटनपटन गर्ने सरकारको प्रक्रियाको विरोध गरेका हौँ ।’
गएराति सामान्य प्रशासन मन्त्रालयले शिक्षा सेवामा कार्यरत रहेका रामचरित्र मेहतालाई सरुवा गरेको हो । मेहता यसअघि, इटहरी उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका थिए ।
यसअघि उनी पालिकामा रहँदा विवादमासमेत परेका कारण उनलाई महानगरले समस्या नसुल्झिउञ्जेल कार्यालयमा नआउन दिने संकेत गरको छ ।








































