राष्ट्रिय मानव अधिकार आयोगले भोलिको आन्दोलनलाई शान्तिपूर्ण बनाउन राजसंस्था पक्षधर र समाजवादी मोर्चालाई आग्रह गरेको छ।
प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसले शान्तिसुरक्षामा समेत चुनौती थपिने भन्दै आयोगले चासो देखाएको हो।
यसै सन्दर्भमा आयोगले काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलसँग बिहीबार छलफल गरेको आयोगले जनाएको छ।
छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिएका छन्।
आयोगले विभिन्न टोलीहरु बनाई भोलि हुने प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमनसमेत हुने जनाएको छ।









































