पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भएको प्रदर्शनमा एउटा पोस्टरले धेरैको ध्यान खिच्यो । उक्त पोस्टर थियो भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको । पोखराबाट काठमाडौं आएका शाहको स्वागत प्रदर्शन सोही पोस्टरका कारण विवादित पनि बन्यो ।
उक्त पोस्टर बोक्ने प्रदीप विक्रम राणा अहिले भारत पुगेका छन् । उनले भारतीय समाचार संस्था नवभारत टाइम्सलाई प्रतिक्रिया दिएका छन् । राणाले उक्त मिडियालाई दिएको प्रतिक्रियामा उक्त प्रकरणपछि प्रहरी आफ्नो पछि लागेको बताएका उल्लेख छ ।
समाचारमा जनाइएअनुसार ५८ वर्षीय राणा मंगलबार भागेर गोरखपुर पुगेका हुन् । उनले उक्त समाचारमा भारत सरकार र योगी आदित्यनाथसँग मिलेर आफू सरकार गिराउने खेलमा रहेको प्रहरीले ठानेको सम्म भनेका छन् । समाचाचरमा उनको ठेगाना काठमाडौंको वडा नम्बर १६ बताइएको छ ।
उनले योगी आदित्यनाथलगायत भारतीय नेताहरूसँग आफ्नो भेट नभएको बताएका छन् । नबभारत टाइम्सलाई उनले आफू सम्पन्न भएको मात्र बताएका छैनन् छोरी पाइलट र छोरो डाक्टर भएको उल्लेख गरेका छन् ।








































