प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्बाट अध्यादेश पारित गर्ने विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली र देउवाले यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।
प्रधानमन्त्रीको ओलीको सचिवालयले पनि यादवसँगको भेटमा समसामयिक राजनीतिका विषयमा भेट भएको जानकारी दियो । ‘प्रधानमन्त्रीले उपेन्द्र यादवसँग भेट गर्नुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले पनि संसद्बाट अध्यादेश पारित गर्ने विषयमा यादवसँग भेट भएको जानकारी दियो ।
‘अहिलेको विषय नै संसद् बैठक, अध्यादेश, विधेयकसहितका हुन्,’ देउवा निकट स्रोतले भन्यो, ‘पछिल्लो समय सरकारले ल्याएको अध्यादेशको विषयमा यादवसँग भेट भएको गरेको र पारितको लागि उहाँसँग सहयोगको आग्रह गरेको बुझेका छौं ।’
प्रतिनिधिसभामा कांग्रेस र एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्रको जसपा नेपालले भोट हाले मात्रै अध्यादेश पारित हुने स्थिति रहेको छ । सरकारले ल्याएको ५ वटा अध्यादेश आज प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गर्ने तयारी गरेको छ ।
तर, यादवको जसपा निर्णायक भएपछि उसलाई मनाउन सत्तारुढ दल जुटेका हुन् । राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य छन् । यी तीनले समर्थन गर्दा सत्तारूढ दललाई राष्ट्रिय सभामा बहुमत पुग्छ ।
दुई नेतासँग छलफलपछि अध्यादेशबारे निर्णय गर्न जसपा नेपालको संसदीय दलको बैठक बसिरहेको छ ।
सरकार, प्रदेशमा हिस्सा पाउने स्थितिमा जसपा नेपालले कांग्रेस एमालेको आग्रहलाई मान्ने मनस्थिति देखाएको छ । जसपाले अध्यादेशबारे निर्णय लिन कार्यदल नै गठन गरेको थियो ।
आजै १ बजे बस्ने संसद बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








































