सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्र लगायतका दलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यविरुद्ध मिथ्या संकथन निर्माणको प्रयास गरिहेको आरोप लगाएका छन्।
आइतबारदेखि सुरु भएको नेकपा एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले त्यस्तो संकथन मिथ्या र भ्रामक रहेको दाबी गरेका छन्।
‘सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्र लगायत केही दलहरूले यस परिवर्तनका विरुद्ध एउटा मिथ्या संकथन निर्माणको प्रयास गरिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘‘आफूहरूले ठूलाठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि अत्तालिएका दलहरू रातारात मिल्न पुगेको’, ‘यस समीकरणले ‘आफूहरूले सुरु गरेको सुशासनको अभियानलाई उल्ट्याउन खोजेको,’ र ‘नेकपा (एमाले) र नेपाली कांग्रेसले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणाली जस्ता उपलव्धिहरू खोस्न खोजिरहेको’ भ्रामक प्रचार गर्न खोजिरहेका छन्।’
ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन अनुसूचीबाहेक २५ पृष्ठको रहेको छ। अनुसूचीमा कांग्रेस र एमालेबीच भएको ७ बुदेँ सहमति समेत राखेका छन्।








































