सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिँदैछ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले गत पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगीमा लामिछानेविरुद्धको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गते अदालतले चार दिनको म्याद थपेको थियो । चार दिनको म्याद गत शुक्रवार सकिए पनि शनिवार सार्वजनिक बिदा परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नु पर्ने भएकाले आइतवार नै मुद्दा गर्न लागिएको कास्की प्रहरीको भनाइ छ ।
पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि लामिछाने गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई अनुसन्धानका लागि भन्दै पोखरा लगिएको थियो । यसअघि सोही प्रकरणमा असोज ६ गते नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो।लामिछाने र जोशीसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ । प्रहरीले प्रतिवेदनमा ५१ जना प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने रायसमेत दिएको छ ।








































