स्वर सम्राट नारायण गोपाल अर्थात नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यले यो संसार छाडेर गएको ३४ वर्ष हुन लागेको छ । यही मंसिर १९ गते बुधवार स्वरसम्राटको ३४औँ स्मृति दिवस मनाईँदै छ । स्वर सम्राट नारायण गोपालको पूण्य स्मृतिका अवसर पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको नारायण गोपाल स्मृति सम्मान–२०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरुलाई प्रदान गरिँदैछ ।
आगामी मंसिर १९ गते बुधवार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने एउटा विशेष कार्यक्रममा गीतकार शिवशंकर थापा,संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिने छ । उक्त कार्यक्रममा विभिन्न गायक गायिकाहरुले नारायण गोपालका कालजयी गीत–संगीत प्रस्तुत गरेर स्वरसम्राटलाई स्मरण गर्नेछन् । पूर्ण अर्केष्ट्राका साथमा नयाँ तथा पुराना गायक–गायिकाहरुको स्वरमा नारायणगोपालका गीत संगीतलाई भव्य रुपमा सांगीतिक कार्यक्रम गरी सम्पन्न गरिने कोषले जनाएको छ ।
विक्रम संवत १९९६ मा असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको निधन वि.सं.२०४७ मंसिर १९ गते भएको थियो । वि.सं. २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तिर्ण गरेका स्वरसम्राट नारायण गोपालले दर्जनौं कालजयी गीत गाएका छन् ।
उनलाई २०२३ सालमा सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । त्यस्तै, उनलाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो, एउटा मान्छेको मायाले जस्ता थुप्रै कालजयी गीतहरु आज पनि स्रोताको मन–मष्तिस्तमा बसेको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाले स्वर सम्राट नारायण गोपालले ठूलो सम्मान अर्पण गरिरहेको छ । महानगरले महाराजगञ्जस्थित नारायण गोपाल संगीत कोषको भवन रहेकै परिसरमा नयाँ चार तल्ले भवन निर्माण गरिरहेको छ ।
त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाएका सेतो रङ्गको भवन छ । महानगरको वडा नं. ३ का अध्यक्ष प्रेम थापाका अनुसार नारायण गोपालको घरलाई संग्रहालय बनाउने योजना छ । यस घरमा नारायण गोपालद्वारा बजाइएको हार्मोनियमसमेत छ, उनले प्राप्त गरेका सम्मानहरुसमेत छन् ।
केही दिनअघि महानगरकी उप–प्रमुख सुनिता डंगोलले नारायण गोपाल संगीत कोषको भवनमा लिफ्ट राखेर पहुँचयुक्त बनाउन र भित्री संरचनाका सुविधालाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिएकी छिन् ।
महानगरपालिकाले निर्माण गरिरहेको भवनको अनुगमनका क्रममा लिफ्ट जडानको योजना नभएको जानकारी पाएपछि उप–प्रमुख डंगोलले यो निर्देशन दिएकी हुन् ।
‘सार्वजनिक संरचना सबैका लागि हुन् । अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ । भवन भित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ,’ उप–प्रमुखले भनेकी छिन् । नारायण गोपाल संगीत कोषको भवन निर्माणका लागि २०८० चैत ७ गते कार्यादेश दिएको थियो । यसको निर्माण कार्य आगामी माघ मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
भवन करिब २ करोड ८ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । चार तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे तथा ५ वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ्स्थल हुनेछ ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको जमिन तल्ला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउण्ड प्रुफ स्टूडियो बनाइने छ । भवनको बाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ ।








































