सिरहामा ५ जनाले आफ्नै साथीको हत्या गरेको खुलेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
महराको हत्या आरोपमा प्रहरीले उनकै पाँच जना साथीलाई पक्राउगरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार हत्या आरोपमा पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरजकुमार राम र २० वर्षीय मोहमद जमसेद रहेका छन् । उनीहरूलाई कात्तिक २ गते राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
असोज २८ गते साँझ सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महराको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेको हो ।
असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए । सबै नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गएका थिए । खोलामा गएर उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए ।
त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने बताए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले मानेनन् ।
सोही विषयका उनीहरूबीच विवाद बढेपछि रिसको आवेगमा हत्या गरेको प्रहरीले जनाएको छ । त्यसपछि पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।
अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए ।
अपराधबाट बच्न गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टोमा पुरेका थिए ।
यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








































