प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो ।
बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने एक प्रहरी अधिकारी बताउँछन्
ब्यूरोका प्रमुख एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताए । कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आवागमन कक्षको वाक थ्रु गेटमा जाँच गर्दा उनको साथमा रहेको सुटकेसमा शंकास्पद वस्तु देखिएको थियो । लगेज खोलेर जाँचगर्दा त्यसभित्र प्रतिबन्धित लागूऔषध कोकिन फेला परेको ब्यूरोले जनाएको छ । कोकिन रिसिभ गर्न नेपालमा रहेको गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि असार ६ गते ४ जना विदेशी नागरिकसहित ४ किलो ५०४ ग्राम कोकिन बरामद भएको थियो । ब्यूरोको टोलीले नै तान्जिनियाका नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलेभियन नागरिक ३३ वर्षीया लाउरा क्रुज तिकोना, भेनेजुएलाका नागरिक ३९ वर्षीय सिमोन एन्तोनियो अल्फन्जो रादा र भारतीय नागरिक २७ वर्षीया लालरुवात सांगीलाई क्याप्सुल बनाएर ल्याएको कोकिनसहित पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये डोनाल्ड फ्लाई दुबईको उडानद्वारा नेपाल आएका थिए । २ केजी २ सय ६ ग्राम क्याप्सुल आकारमा निलेर उनले कोकिन ल्याएका थिए । लाउरा इमिरेट्स उडानद्वारा ब्राजिल हुँदै आएकी थिइन् । महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाई छिपाई उनले २ किलो १ सय ग्राम कोकिन भित्र्याएकी थिइन् । कतार एयरको उडानद्वारा नेपाल आएका सिमोनले क्याप्सुल आकारमै निलेर १ किलो १ सय ९८ ग्राम ल्याएकी थिइन् । कोकिन रिसिभ गर्न भारतीय नागरिक काठमाडौं आएका थिए ।
त्यसपछि पनि विदेशी नागरिकहरु एकपछि अर्के गरी कोकिनसहित पक्राउ परेका थिए । गत असार ९ मा कतार एयरको उडानबाट आएका तान्जानियाका नागरिक ४६ वर्षीय रामाधानी सिम्बा एम वाबुम्बा र ५२ वर्षीय त्वालिव किपेभु पाशुवालाई ठमेलको एक होटलबाट १ केजी २ सय ४७ ग्राम कोकिनसहित पक्राउ गरेको थियो ।
त्यस्तै साउन १ मा इन्डिगो एयरलाइन्सबाट भारतको मुम्बई हुँदै नेपाल आएका भारतीय नागरिक फाहिमुद्धिन नासिमुद्धिन अन्सारीलाई पनि व्यूरोको टोलीले नै ठमेलबाट जुसका २ वटा बट्टामा लुकाएको अवस्थामा १ केजी १ सय ग्राम कोकिनसहित पक्राउ गरेको थियो ।
अन्सारीले पिंगलास्थानस्थित एक होटलमा बसेका नाइजेरियन नागरिक इकेचुक्वाकाइरिल ओबोदोइफुलाबाट लिएको बयान दिएका थिए । त्यसपछि ती ४४ वर्षीया नाइजेरियन नागरिकले पनि आफू कोकिन कतार एयरबेजहुदै नेपाल आउने क्रममा साथमा लिएर आएको बयान दिएका थिए ।







































