सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारणसभामा उनले यस्तो बताएकी हुन्।
उनले राज्यका नीति, नियम, कानूनहरु व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन्। उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन्। उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महँगो हुँदा नेपालमा खोल्नसक्ने उद्योग व्यवसायीहरू निरुत्साहित रहेको बताइन्। उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताइन्।
उनले भनिन्, ‘यससम्बन्धी समस्याको विषयमा हामी जानकार छौँ। तर समाधान कसरी? भन्ने मुख्य कुरा हो भन्ने मलाई लाग्छ। यो समाधानका निम्ति हामीले जसरी व्यापार, व्यवसाय कोभिड महामारी लगायत विभिन्न कारणले गर्दा व्यवसायिक क्षेत्र मन्दीमा छ। मोबाइल व्यवसाय पनि यसकै मारमा छ। त्यसमाथि पनि राज्यका कैयौँ नीति, नियम, कानून हाम्रा व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक छ। व्यवसायलाई संरक्षण गर्न, यसलाई अगाडि बढाउनका निम्ति हाम्रा नीति, नियम र कानून व्यापारमैत्री, व्यवसायमैत्री बनाउन जरुरी छ। त्यसका लागि हामी प्रयत्न गरिरहेका छौँ।’
मन्त्री शर्माले बजेटमा नेपालमै पहिलोपटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन्।








































