श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित कर्णाली प्रदेशमा श्रमाधान रोजगार मेला आजदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा मेला शुक्रवारदेखि वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको मेला शनिबारसम्म चल्ने भएको छ ।
रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको उपसचिव टीकाराम ढकालले बताए। मेलाले रोजगारीका अवसरहरू सिर्जना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने रहेको उनको भनाइ छ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले रोजगारदाता र कामको खोजीमा रहेका बेरोजगारहरूलाई एक लयमा जोड्न सहजीकरण गर्ने बताए । ‘श्रम भन्नासाथ विदेश नै जानुपर्छ भन्ने मान्यता नेपालीले बोकेका छौं,’ उनले भने । उनले भने, ‘वैदेशिक रोजगारमा पठाउनेहरू हाम्रा घरघर र टोलमा पुगेका छन तर, आफ्नै घर आँगनमा भएको श्रमको मूल्य छैन ।’








































