नागरिकता गडबडी प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे केही दिनअघि दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले सार्वजनिक रूपमा माफी मागेका छन्।
कार्यक्रमको दौडधुपमा रहेका बेला एक्कासि सोधिएको प्रश्नमा जवाफ दिँदा ढंग नपुगेको भन्दै उनीहरूले संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै क्षमा याचना गरेका हुन्।
‘अस्ति नै हामी एउटा क्याफैमा बसेर अस्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौँ, त्यही बेला त्योभन्दा गम्भीर रूपमा अर्को अदालतमा विचाराधीन विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनुभएको रहेछ,’ मदनकृष्णले भिडिओमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो। हामी अक्मकियौँ के बोल्ने कसो बोल्ने भनेर। अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ।’
उनीहरूले अदालतमा विचाराधीन विषयमा बोलेर आफूहरूले गल्ती गरेको स्वीकार गर्दै क्षमा चाहन्छौँ भनेका छन्।
सिरोहिया पक्राउबारे कान्तिपुर टेलिभिजनले सोधेको प्रश्नमा श्रेष्ठ र आचार्य दुवैले सरकारले गल्ती गरेको आरोप लगाएका थिए।








































