आज संसद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि बोल्ने कार्यसूची रहेको छ ।
शुक्रबारको कार्यसूचीमा भने उनले बोल्ने भन्ने तय थिएन । सत्तापक्ष र प्रतिपक्षबीच शनिबार सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएसँगै गृहमन्त्री लामिछानेले पनि संसदमा बोल्ने कार्यसूचीले स्थान पाएको छ ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ७ वटा विषय छन् ।
पहिलो नम्बरमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् । त्यसैगरी सभामुखले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची चौथोमा छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारको वार्षिक प्रतिवेदन आव २०७९-८० पेश गर्ने तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ पेश गर्ने कार्यसूची पाँचौ र छैटौँ नम्बरमा छ ।
सातौँमा भने गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक– २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
बिहीबारको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) सांसदबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको थियो । अब आजदेखि भने संसद् सुचारु हुने सम्भावना लगभग निश्चित भएको छ ।
यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ ।








































