प्रदेश सभाको बिहीबार दिउँसो दोस्रो बैठक शुरू हुने वित्तिकै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदले विरोध जनाएका थिए। उनीहरूको नाराबाजीबीच सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक सञ्चालन गरेका थिए।
सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रस्ताव पेश गर्न समय दिएका थिए। त्यस लगत्तै विश्वासको मतको प्रस्तावमाथि मत विभाजन गरेका थिए।
त्यसपछि भने कांग्रेस र नाउपाका सांसदले बैठक बहिष्कार गरे। विपक्षीको बहिष्कारबीच मत विभाजन भएको थियो।
मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा २८ सांसदले मत दिए। सभामुख भण्डारीले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।
विपक्षमा मत परेनन्। मतदानमा नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नाउपाका अध्यक्ष रञ्जिता पक्षका दुई र एक जना स्वतन्त्र सांसद गरी २८ जना सहभागी थिए।
नेपाली कांग्रेसका १८ र नाउपाका संरक्षक रेशम चौधरी पक्षका पाँच सांसदले प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए। ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ।








































