नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशभरका लाखौं सहकारी पीडितको अरबौं रुपैयाँ ठगी गर्नेविरुद्ध कांग्रेस अझै आक्रामक बन्ने बताएका छन् ।प्रमुख सचेतक लेखकले सहकारी ठगीविरुद्धको मुद्दामा रवि लामिछाने, सरकार र अन्य दलसँग पनि कांग्रेस लड्ने पक्षमा रहेको बताएका हुन् ।
‘हामी देशभरका सहकारी ठगी गर्नेविरुद्ध आवाज उठाइरहेका छौं । सहकारी ठगी गर्नेमा रवि लामिछाने पनि हुनुहुन्छ । ठगी गर्नेमध्ये उहाँ पनि एक हुनहुन्छ । हाम्रो अबको विषय र चासो लाखौं मानिसको अरबौं रुपैयाँ ठग्नेविरुद्ध कारबाही हुनुपर्छ भन्नेमा छ’, लेखकले भने, ‘कुनै पनि पार्टी सहकारीका ठगलाई बचाउनेविरुद्ध कांग्रेस लड्न तयार छ । सरकार र दल नै सहकारी ठगलाई बचाउन लाग्छन् भने कांग्रेस अब उनीविरुद्ध झन् सशक्त रुपमा उत्रिन्छ ।’
सहकारी ठगीविरुद्ध छानबिन गर्न संसदीय समिति गठनको विषय कांग्रेसको लागि बटमलाइन भएको भन्दै उनले सरकारको नीति तथा कार्यक्रम पनि प्रभावित हुने बताए ।
‘अहिलेमात्रै होइन हामीले त लामो समयदेखि सहकारी ठगलाई कारबाही गर । पीडितको पैसा फिर्ता गर भन्दै आएका छौं । तर सरकार सुनेको नसुनेझैं गरिरहेको छ । यसैले हामीले छानबिनको लागि संसदीय समिति गठनको विषयलाई बटमलाइन बनाएका हौं’, लेखकले भने, ‘हामी जेठ १ गते पनि संसद्मा आफूहरूको माग र विरोध प्रदर्शन कायम राख्छौं । देशभरका सहकारी ठगलाई बचाउन सरकार लागे पनि अरु लागे पनि कांग्रेस भिड्न तयार छ ।’
आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा कांग्रेसले समिति गठनमा सकारात्मक जवाफ आएको बताएको थियो ।
प्रधानमन्त्री प्रचण्डले पनि सोमवार साँझसम्म केही सहमति भएर मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने वातावरण बन्ने बताएका थिए ।
तर कांग्रेसले संसदीय छानबिन समिति गठनलाई नै बटमलाइन बनाएको छ ।
सोमवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले छानबिन समिति गठन नगरिए नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठक नै प्रभावित गर्ने चेतावनी दिएको थियो ।
‘हामीले यस अघिदेखि नै भन्दै आएको सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको गठनको मागमा हामी अडिग छौं । हाम्रो बटमलाइन नै यही हो’, उनले भने, ‘छानबिन समिति नबने भोलि मंगलवार बस्ने बैठक पनि अवरुद्ध गर्छौं ।’
संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलवार बिहान ८ बजे संसदीय दल कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बोलाएको छ ।
बैठकले संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिने तयारी गरेको छ ।








































