कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।
बिहान बसेको संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेत रमेश लेखकले छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले लामो समयदेखि गृहमन्त्री लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ ।
अहिले केहीबेरमा प्रतिनिधि सभा बैठक बोलाइएको छ । संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नभएपछि आजको संसद बैठक चल्नेमा आशंका बढेको छ ।








































