वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म सत्ता गठबन्धन दलहरूबिच साझा उम्मेदवारी दिने विषयमा कुनै औपचारिक सहमति भइसकेको छैन
फागुन २१ मा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी पार्टीबिच मिलेर नयाँ सत्ता समीकरण बनेको थियो । गठबन्धन सत्ता सहकार्यका लागि मात्र भएकाले उपनिर्वाचनमा चुनावी तालमेल नहुने नेताहरूले दाबी गरेका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धन दलहरूको साझा उम्मेदवार उठाउने विषयमा कुनै लिखित सहमति नभएको दाबी गरे । तर, अन्तिम समयसम्म तालमेलका लागि प्रयास भने हुने नेताहरूको भनाइ छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले इलाम २ मा माओवादीले आफूलाई सहयोग गर्ने जिकिर गरे । तर बझाङको हकमा आ–आफ्नै उम्मेदवार उठाइने सम्भावना भएको उनको भनाइ छ । ‘इलाम २ मा माओवादीले हामीलाई सहयोग गर्ने भएको छ । बझाङ प्रदेश सभा १ मा स्वस्थ प्रतिस्पर्धा गर्ने छौँ । एमालेले अन्य उम्मेदवारलाई सहयोग गर्दैन’, उनले भने, ‘गठबन्धन सत्ता सहकार्यका लागि मात्र बनाइएको हो ।’
यस्तै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूले कुनै दलसँग पनि चुनावी तालमेल नगर्ने बताए । एमालेले नै गठबन्धनसँग कुनै सल्लाह नगरी उम्मेदवारी घोषणा गरेकाले आफूहरूले पनि बाध्य भएर उम्मेदवारी दिएको उनको भनाइ छ ।
‘एमालेले गठबन्धन दलहरूबिच छलफल नगरी एकलौटी उम्मेदवारी घोषणा गरेपछि हामीले पनि बाध्य भएर उम्मेदवारी दिएको हो । हामी कसैसँग तालमेल गर्दैनौँ । उम्मेदवारी फिर्ता लिने कुरै भएन’, उनले भने ।
इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमलाई समर्थन गरेको जसपाले पनि गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । बझाङमा भने उसले आफ्नै उम्मेदवारी घोषणा गरेको छ । उम्मेदवारी दिने विषयमा एमालेले सत्ता सहयात्री दलहरूबिच एमालेले छलफल नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको बताए । यद्यपि समाजवादी मोर्चामा आवद्ध दलहरूबिच चुनावी तालमेलको सम्भावना बाँकी नै रहेको उनको भनाइ छ ।
‘एमालेले हामीसँग सल्लाह नगरी उम्मेदवारी दिएपछि इलाम २ मा स्वतन्त्रलाई समर्थन गर्ने निर्णय गरेका छौँ । बझाङमा हाम्रो आफ्नै उम्मेदवार छ’, श्रेष्ठले भने ।राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले सत्ता सहकार्य र उपनिर्वाचन अलग विषय भएकाले चुनावी तालमेल नहुने बताए । एकल चुनावी प्रतिस्पर्धा गर्ने पार्टीको नीति नै भएकाले रास्वपाले कुनै दलसँग सहकार्य गर्न आवश्यक नभएको तर्क गरे
‘हामीले सत्ता सहकार्य गरेका हौँ । चुनावी तालमेलका लागि होइन । निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने पार्टीको नीति छैन । दलहरूबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने ।








































