काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेसंगै राजनीति गर्माएको छ । बुधबार बिहान खाँण पक्राउ परेपछि यतिबेला शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ ।
सत्ता पक्षकै नेताहरु निशानामा पर्नु र नेताहरुको भेटघाट बाक्लिनुले कतै यो प्रकरण पनि यसै हराउने त होइन ? शंसय पैदा गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम दलका ठूला नेताहरुनै पक्राउ पर्न थालेपछि मुलुकको राजनीतिमा हलचल मच्चिएको छ ।
बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसंगै यो प्रकरण झनै पेचिलो बन्ने देखिएको छ ।

जसकारण पछिल्लो समय दलका शिर्ष नेताहरुबीच रहस्यमयी ढंगले भेटवार्ता बाक्लिन पुगेको छ । पूर्वगृहमन्त्री खाँण प्रक्राउ परेको बिषयले राजनीति गर्माएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले प्रहरी अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेसंगै अनुसन्धानको तिर खाँण पत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवातर्फ पनि सोझिएको छ ।
सत्ता पक्षकै नेताहरु यसरी धमाधम पक्राउ पर्न थालेपछि कनै यो घटना यतै हराउने त होइन ? प्रश्न उब्जिएको छ । त्यसैले बुधबार देखि, सामाजिक सञ्जाल देखि सडक हुँदै सदनसम्मै खबरदारीका स्वरहरु गुञ्जिन थालेका छन् ।
यता, बालकृष्ण खाँण पक्राउ परेपछि सभापति देउवा पार्टीका शीर्ष नेताहरुसंग आन्तरिक छलफलमा जुटेका छन् । यसैबिच संस्थापन इतर पक्षका केहि नेताहरुले भने शरणार्थी प्रकरणमा सरकारले गरेको कामको प्रशंसा गर्दै ऐक्यवद्धता जनाएका छन् ।
शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुलाई कारबाही गरे प्रचण्ड नेतृत्वको सरकार नै संकटमा पर्न सक्ने आंकलन हुन थालेको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले देखाएको हिम्मतको यतिबेला चौतर्फि प्रशंसा पनि भइरहेको छ ।
तर, राजनीतिक रुपमै जेलिने देखिएको यो प्रकरणमाथि स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुने त होइन भन्ने प्रश्नको जवाफ भने सरकारले कामबाटै दिनुपर्ने अवस्था आइलागेको छ । न्युज२४रिपोर्ट








































