काठमाडौँ – उपचुनावको मत परिणाम सत्ता गठबन्धनको पक्षमा नदेखिएपछि माओवादी केन्द्रभित्र नेतृत्वविरुद्ध आवाज उठ्न थालेको हो।
यसैबीच नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्। उनले सरकार असफल भए माओवादी सकिने बताएका छन्।
उनले मंगलबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन।’

असफल सरकारलाई जनताले सधैँ बोकिरहन नसक्ने उनको भनाइ छ। ‘यतिबेला मात्रै सरकार सफल हुन्छ, जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नोजस्तो लाग्छ। ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैन है,’ उनले लेखेका छन्।








































