पालुङटार नगरपालिकाले २०७५ सालदेखि सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको स्व-आर्जन प्रवर्द्धन कोष अहिले विवादको केन्द्रबिन्दुमा छ। करिब चार करोड ३० लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको योजना अपेक्षित सफलतामा पुग्न सकेको छैन।
कार्यक्रममार्फत युवालाई कृषि, उद्योग र साना व्यवसायमा दुई प्रतिशत ब्याजदरमा कर्जा दिइन्थ्यो। २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित तत्कालीन मेयर दीपकबाबु कँडेलको नेतृत्वमा युवाहरूमा ठुलो आशा जागेको थियो। पालुङटारमा रोजगार सिर्जना हुनेछ र युवाहरूले अरूको काममा नजाने अवस्था सिर्जना हुनेछ भन्ने विश्वास थियो। तर पाँच वर्षको कार्यकालमा योजना अपेक्षा अनुसार अघि बढ्न सकेन।
स्थानीय निर्वाचन २०७९ मा मेयर कँडेल पराजित भएपछि कोषको कार्यान्वयन अझ कमजोर भयो। आर्थिक वर्ष २०७८/७९ को महालेखा परीक्षणकाे प्रतिवेदनले कोषमा लगानी भए पनि दुई करोडभन्दा बढी रकम अझै फिर्ता आएको छैन। अधिकांश लाभग्राहीले ब्याजसहित पनि ऋण तिरेका छैनन्। कोरोना महामारी र आर्थिक मन्दीले रकम फिर्ता ल्याउन असम्भव बनाएको छ।








































