कोशी प्रदेशको बेलबारीमा जन्मिएकी र हुर्किएकी प्रतिभाशाली सुन्दरी गरिमा गुरुङले नेपालको नाम अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता “मिस वल्ड टुरिजम २०२५” मा उजागर गर्न अवसर प्राप्त गरेकी छिन्। उनले नेपालको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउने महान उद्देश्यका साथ आगामी आइतबार इन्डोनेसियाको बालीतर्फ प्रस्थान गर्ने भएकी छिन्।
गरिमा गुरुङ केवल सौन्दर्य प्रतियोगिताकी सहभागी मात्र नभई पर्यटनका लागि उत्साही दूत पनि हुन्। उनको मुख्य अभियान भनेको “नेपाललाई १२ महिना पर्यटनको लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्ने” रहेको छ। उनले नेपालको हिमाल, पहाड र तराईका भौगोलिक विविधता, धार्मिक तथा ऐतिहासिक स्थलहरू, जातजातिको कला–संस्कृति र नेपालीहरूको आत्मीय अतिथि सत्कारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उनको सहभागिताबाट नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत आधार प्राप्त हुने अपेक्षा गरिएको छ। गरिमाले विगत केही वर्षदेखि मोडलिङ र सामाजिक अभियन्ता गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। विशेष गरी युवालाई पर्यटनप्रति आकर्षित गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्ने र नेपाललाई ‘सुरक्षित र मित्रवत गन्तव्य’का रूपमा प्रस्तुत गर्ने दिशामा उनले निरन्तर काम गर्दै आएकी छिन्।
नेपाल पर्यटन बोर्ड, स्थानीय निकाय र विभिन्न संघसंस्थाहरूले उनको यो कदमलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्। “गरिमा गुरुङले विश्वमञ्चमा नेपालको पहिचानलाई अझ उजागर गर्नेछिन्,” भन्ने विश्वास विभिन्न पर्यटन व्यवसायीहरूले राखेका छन्।
“मिस वल्ड टुरिजम” जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले नेपाललाई विश्वको पर्यटन नक्सामा अझै फराकिलो स्थान दिलाउने सम्भावना छ। गरिमाले पनि प्रतियोगिता जित्नेभन्दा बढी, नेपाललाई विश्वमा चिनाउने जिम्मेवारी ठूलो ठानेकी छिन्।
बेलबारीदेखि बालीसम्मको उनको यात्राले केवल व्यक्तिगत सफलता मात्र नभई, सम्पूर्ण नेपालीको गौरवलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।









































