नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्ने भएको छ । केन्द्र र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने औपचारिक निर्णय आज गर्न लागेको हो ।
केहीबेरमा बैठक बसेर निर्णय गर्न लागेको सांसद समेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।
‘हामी आज बैठक बसेर त्यसबारे निर्णय गर्दैछौँ, अब हामी सत्तापक्षलाई साथ दिन सक्दैनौँ,’ उनले फरकधारसँग भनिन् ।
त्यसो त बिहीबार नै नाउपाले भर्चुअल माध्यमबाट छलफल गरेको समेत उनले बताइन् ।
बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । चौधरी आर्थिक अनियमिततामा मुछिएको भन्दै यसअघि नै मुख्यमन्त्रीले उनलाई राजीनामा दिन ताकेता गरेका थिए । तर उनले राजीनामा दिन नमानेपछि हिजो बर्खास्त गरेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।
मन्त्रीलाई बर्खास्त गरेको विषयमा नै आपत्ति जनाउँदै नाउपाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।








































