राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले प्रतिनिधिसभामा झुटो कुरा गरेको टिप्पणी गरेका छन् ।
कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको भन्दै प्रतिपक्षी सांसदहरूले सवाल उठाएपछि मन्त्री खड्काले संसदमा त्यसको जवाफ दिएका थिए । तर, पूर्व ऊर्जामन्त्रीसमेत रहेका लिङ्देनले मन्त्री खड्काले झुटा कुरा गरेको बताए । उनले आफूहरु झुटा कुरा सुनेर नबस्ने चेतावनी पनि दिए ।
मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको लिङ्देनको भनाइ छ । उनले सदनमा मुर्खहरू मात्र बसेको नठान्न मन्त्री खड्कालाई आग्रह गरे । मन्त्री खड्काले कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफूहरू कर्मचारीको पक्षमा उभिने पनि बताए ।
मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्ब मात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको आरोप लगाएका थिए । ‘लाल आयोगले २२ अर्बको साटो ६ अर्ब भनेको छ । २२ अर्ब नाफा हो भनेर देखाइएको छ । २२ अर्ब उठाउन अरबिन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिलाई कुनै प्रमाण दिइएको छैन,’ उनले भने ।
यस्तै, यसअघि ऊर्जा मन्त्रालय सम्हालेका मन्त्रीहरूको पनि आफूले सहयोग नपाएको खड्काको गुनासो थियो । ‘प्रतिपक्ष दलका नेताहरूले यो मन्त्रालय सम्हालेका कारण उहाँहरूसँग सल्लाह गरेको हो । तर, उहाँहरूले सहयोगको साटो प्रश्न गर्नुभयो,’ उनले भने ।








































