सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशन विधानको व्यस्था बमोजिम समयमै हुनुपर्ने बताएका छन् । विहीबार पार्टीको कार्यक्रममा सहभागी हुने सुर्खेत आएका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै आम निर्वाचनपछि महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने बताए ।
‘अहिले चलेको हल्लाअनुसार निर्वाचनपछि पार्टीको महाधिवेशन गर्दा नेपाली कांग्रेस धेरै कमजोर हुन्छ, विधानअनुसार ढिलोमा डेढ बर्षमा अधिवेशन गरिसक्नु पर्छ,’ उनले भने ।
यही प्रसङ्गमा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको बताए । उनले कांग्रेसमा अहिले गुटउपगुट नरहेको र पार्टी देशभर बलियो रहेको बताए ।
देशको वर्तमान परिस्थितिका बारेमा कोइरालाले भने, ‘देशमा सुशासन छँदै छैन भन्दा पनि फरक पर्दैन, आर्थिक अवस्था एकदमै कमजोर भएकाले हामी बेल्ट कसेर अघि बढ्नु पर्छ ।
’ आर्थिक अवस्था सुधार, राजनीतिक स्थिरता, सुशासन कायम गराउने उद्देश्यले अहिले दुई ठूला दल काँग्रेस र एमालेबीच सहकार्य भइरहेको उनले बताए । अमेरिकाले रोकेको युएसएआईडी लगायतको सहयोगबाट नेपाल सजग हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।








































