महोत्तरीको जलेश्वर कारागारमा रहेका एकजना कैदीको मृत्यु भएको छ ।
शनिबार राति करिब साढे १२ बजेको समयमा आगजनी मुद्दामा कैद भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका ९ का ५५ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो । राति अचानक छाति दुखेपछि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएकोमा उपचारको क्रममा राति २ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले महरालाई कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरेको थियो ।








































