संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ३५ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेका छन् ।
मंगलबार नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सव समाराेहलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले सन् २०२५ देखि ३५ लाई पर्यटन दशकका रूपमा मनाउने बताएका हुन् । ‘यसअघि सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घाेषणा गरेकाे भए पनि त्यतिबेला पूरा हुन सकेन । सरकारले अब सन् २०२५ देखि ३५ लाई पर्यटक दशकका रूपमा मनाउने छ,’ उनले भने ।
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताए । उनले नेपालको पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेकाले सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको बताए । पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन र डिजिटल मार्केटिङमा जोड दिन यर्यटनमन्त्री पाण्डेले निर्देशन दिए ।








































