सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई बेपत्ता छन् । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएसँगै देश छोडेर भागेका उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिशसमेत जारी गरेको छ ।
देशका प्रमुख शहरमा ‘स’ बाट उच्चारण शुरु हुने नामका आधा दर्जन सहकारी संस्था खोलेर गोर्खा मिडिया नेटवर्क प्रालि लगायतका दर्जनौँ निजी कम्पनीमा गैरकानुनी तवरले पैसा पुर्याएको अभियोग राईमाथि छ । संसदीय छानविन विशेष समितिले उनीमाथि कारवाहीनिम्ति सरकारलाई सिफारिस गरेको छ । तर,हजारौँ बचतकर्ताको अर्बौं रकम घोटाला गरेर भागेका राई कहाँ छन् प्रहरीले समेत बताउन सकेको छैन ।

केही समय अघिसम्म मलेसियामा रहेको अनुमान गरिएका जिबीलाई खोज्न सरकारले नेपालबाट प्रहरीको एक टोलीसमेत पठाएको थियो । तर टोली रित्तो हात फर्कियो । त्यसअघि जिबीको तत्कालिन पार्टनरसमेत रहेका रवि लामिछाने गृहमन्त्री भएका बेला ‘जिबी राईको लोकेसन पत्ता लाग्यो’ भन्दै मलेसियामा रहेको बताएका थिए ।
यसैबीच जिबी राईका तर्फबाट भन्दै इमेलबाट एउटा पत्र जनआस्थालाई प्राप्त भएको छ । नेपाल आएर अनुसन्धानका लागि सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको व्यहोराको पत्रमा सुरक्षाको व्यवस्था मिलाइदिन राज्यसँग आग्रह गरिएको छ ।
यस्तो छ पत्र :
नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,
अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला,जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ ।
म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।
जनआस्था बाट साभार:









































