सत्तारूढ दल नेकपा (एमाले) ले अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरिरहेको आन्दोलनले रवि लामिछानेलगायतका सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूमाथिको अनुसन्धान प्रभावित हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “नेपाल सरकारलाई त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न र स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार पार्न अनुरोध छ ।”
महासचिव पोखरेलले रास्वपाका नेताहरूले पोखरामा चर्काइरहेको आन्दोलनलाई अवाञ्छित भनेका छन् । यस्तै उनले त्यस्ता गतिविधि दण्डनीय हुने भन्दै सचेत गराएका छन् ।
अहिले पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । रास्वपाले लामिछाने पक्राउलाई ‘प्रतिशोध’का रूपमा व्याख्या गरेको छ भने त्यसविरुद्ध शृङ्खलाबद्ध आन्दोलनको घोषणा गरेको छ । अब उसले काठमाडौंकेन्द्रित आन्दोलन गर्दैछ ।


![]()








































